Logo

मेचीनगर प्रेस क्लबको प्रस्तावित कोषका लागि ४१ हजारबढी रकम घोषणा



मेचीनगर, २६ पुस । प्रेस क्लब मेचीनगरको प्रस्तावित अक्षय कोषमा ४१ हजारबढी रकम प्रदान गर्ने प्रतिवद्धता जनाईएको छ ।

बिहीबार काँकरभिट्टास्थित होटल इस्टर्न ग्राण्डको सभाहलमा आयोजित नवौं वार्षिक साधारण सभाको अवसरमा कार्यक्रमका सहभागीको तर्फबाट क्लबले आफ्ना सदस्यका लागि स्थापना गर्ने अक्षयकोषमा एकैदिन २१ हजार २१० रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको हो ।

मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठन प्रेस क्लबको प्रस्तावित अक्षयकोषमा सभाका सहभागी वडा नं ५ का अध्यक्ष कनक कार्कीले ५ हजार, वडा नं ७ का अध्यक्ष प्रह्लादमणी ओलीले ५ हजार १ सय, वडा नं ८ का अध्यक्ष गिरीराज धमलाले ५ हजार ५ सय ५५ तथा क्लबका उपाध्यक्ष जीआर धितालले ५ हजार ५ सय ५५ रुपैयाँ कोषमा हस्तान्तरण गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

यसअघि क्लबकी पूर्व उपाध्यक्ष अम्विका भण्डारीले कोषमा ५ हजार रुपैयाँ प्रदान गरेकी छिन् । त्यस्तै क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेलले १० हजार, क्लबका अध्यक्ष डम्बर बरालले रु ५ हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले पत्रकारहरु व्यवसायीक बन्न सक्ने वातावरणको सिर्जना गर्नु पर्नेमा जोड दिए ।

उनले विकासमा संघ, प्रदेश र स्थानीय तहले जस लिने होडबाजी नगरी सँगसँगै समन्वय गरेर अघि बढ्न जरुरुी रहेको बताए । सांसद तामाङले प्रेस क्लबको उन्नयनका लागि न्यूनतम १० वर्षका लागि प्रतिवर्ष १५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

क्लबका अध्यक्ष डम्बर बरालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, वडाध्यक्षहरु कनक कार्की, प्रह्लादमणी ओली, गिरीराज धमला, संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्षहरु मुक्ति पौडेल, ज्ञानेन्द्र निरौला, लक्ष्मी उप्रेती, अग्रज पत्रकार जिएन् शर्मा, आदिवासी जनजाती पत्रकार महासंघ नेपाल झापा अध्यक्ष भूमिका सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभाले मेचीनगरका सञ्चारकर्मीहरुलाई ऐक्यवद्ध बनाउँदै व्यवसायीक क्षमता अभिवृद्धि गर्ने, सञ्चार क्षेत्रलाई नियमन गर्दै जिम्मेवारपूर्ण पत्रकारिताको विकास गर्ने, सञ्चारकर्मीहरुको व्ययवसायीक हितका लागि सुरुवातमा न्यनुतम ५ लाख बराबरको प्रेस क्लब मेचीनगर सञ्चारकर्मी कोष स्थापना गर्नेलगायतका सर्वसम्मत निर्णय गरेको छ ।

सभामा क्लबका अध्यक्ष बरालले कार्यसमितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष विनिशा शर्माले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।

क्लबका उपाध्यक्ष जीआर धितालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्