झापा, १८ पुष । मेचीनगर-६ कालीखोला पुल नजिक पूर्व-पश्चिम राजमार्गमा भारतीय ट्रकको ठक्करबाट एक स्कुटी चालक महिलाको मृत्यु भएको छ।
बिहीबार राति ८:१५ बजे काँकरभिट्टाबाट बिर्तामोडतर्फ गइरहेको प्र-१-०१-०१३ प ५८८८ नम्बरको स्कुटीलाई सोही दिशातर्फ आउँदै गरेको पीबी-०२ बीआर-७७६५ नम्बरको मालबाहक भारतीय ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि मेचीनगर-६ निवासी ३३ वर्षीया लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि आम्दा अस्पताल धुलाबारी पुर्याइएकी उनलाई राति ९:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव अस्पतालमै राखिएको छ।
दुर्घटनामा संलग्न स्कुटी, ट्रक र ट्रक चालक भारत पंजाब अमृतसरका ३६ वर्षीय सन्दीप सिंह इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।







