मेचीनगर, ७ असोज । नेपालमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगका कारण नेपालमा अहिलेसम्म बिरामी हुनेको संख्या २१ हजार नाघेको छ भने २७ जनाले ज्यान समेत गुमाएका छन् ।
यसैक्रममा मेचीनगर नगरपालिका वडा नं.१० मा भने डेंगुको रोकथाम तथा नियन्त्रणका लागि आजबाट विषादी छर्कन (Lambdacyhalothrin 10% WP)सुरु गरिएको छ ।
शुक्रबार मेचीनगर नगरपालिका वडा नं.१० का जोखिमयुक्त स्थानहरु विद्यालय, बजार, पुस्ताकालय, मन्दिर, बाटो, पानी जमेका स्थानहरुमा वडा सदस्य विशाल कार्कीको अगवाईमा पाँच जना प्राविधिकसहित विषादी छर्किएको छ ।
संक्रमणलाई वडा भित्र फैलिन नदिन किटनाशक औषधी छर्न सुरु गरिएको वडाध्यक्ष नारायण खनालले जानकारी दिए ।
मेचीनगर नगरपालिका स्वास्थ्य शाखाबाट सञ्चालित विषादि छर्कन अभियान यसअघि मेचीनगर नगरपालिका वडा नं.६ र ९ मा सम्पन्न भएको मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् ।
लामखुट्टेको टोकाइबाट डेंगु हुने भएकाले त्यसबाट जोगिन आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । डेंगुको भाइरसबाट संक्रमणित लामखुट्टेको टोकाइले यो रोग एक जनाबाट अर्कोमा सर्छ ।