Logo

मेचीनगर-१२ मा ४५० जना भन्दा बढीमा स्वास्थ्यमा समस्या



मेचीनगर, १९ फागुन । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा ४५० जना भन्दा बढी स्थानीयलाई स्वास्थ्यमा समस्या देखा परेको पाइएको छ ।

गत फागुन ४ गतेबाट सुरु भएको नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रममा ९०८ जनाले स्वास्थ्य जाँच गराएकामा ४६९ जनाको स्वास्थ्यमा समस्या देखा परेको आधारभूत स्वास्थ्य केन्द्र मेचीनगर-१२ की प्रमुख सृजना अधिकारीले जानकारी दिइन् ।

मेचीनगर नगरपालिकाको आयोजना तथा मेचीनगर-१२ र आधारभूत स्वास्थ्य केन्द्र मेचीनगर-१२ को संयोजन तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, केएचडीसी नेपाल र जेनेभा युनिभर्सिटी हस्पिटलको प्राविधिक सहयोगमा भएको शिविर शुक्रबार सम्पन्न भएको हो ।

वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ प्रा.डा संजिवकुमार शर्माको नेतृत्वमा सञ्चालित केएचडीसी कार्यक्रम अन्र्तगत उक्त शिविरमा मृगौला, उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी रोगको चेकजाँच तथा परामर्श प्रदान गरिएको मेचीनगर नगरपालिका वडा नं.१२ का वडा सदस्य मनोज खरेलले बताए ।

यसैबीच उक्त शिविरमा ९०८ जनाले स्वास्थ्य जाँच गराएकोमा ११० जनालाई स्वास्थ्यमा समस्या देखा पर्न लागेको केएचडीसी नेपालका फिल्ड कोडिनेटर आशिक मोक्तानले जानकारी दिए ।

मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष मुधुसुदन निरौलाको अध्यक्षतामा भएको सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए ।

उक्त स्वास्थ्य शिविर समापन समरोहमा मेचीनगर नगरपालिका वडा नं.४ का वडाध्यक्ष अर्जुन कार्की, मेचीनगर नगरपालिका वडा नं.१२ का पूर्व वडाध्यक्ष नरेन्द्र धिमाल, मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, मेचीनगर नगरपालिकाका वरिष्ठ अधिकृत अनन्त वस्ती, राप्रपा मेचीनगर-१२ का अध्यक्ष इन्द्रमणी प्रसाईंलगायतको उपस्थिति रहेको थियो ।

सो शिविर समापन अवसरमा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर अभिनास देव लगायतले आ-आफना धारणा राखेका थिए ।

आधारभूत स्वास्थ्य केन्द्र मेचीनगर-१२ व्यवस्थापन समितिका सदस्य जगन भटटराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन आधारभूत स्वास्थ्य केन्द्र मेचीनगर-१२ की प्रमुख सृजना अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्