मेचीनगर, १५ वैशाख । पाउँ पाथिभरा मन्दिरमा पूजा गरेर मेचीनगर नगरपालिका वडा नं.१३ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरेका छन् ।
आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं.१३ का वडाध्यक्षका उम्मेदवार श्रीराम मरासीनी, वडा सदस्यका उम्मेदवारहरु फूर्वा लामा, दिलकुमार राजवंशी, महिला वडा सदस्यका उम्मेदवार पुष्पा बोखिम र दलित महिला सदस्यका उम्मेदवार रिता सेवाले मन्दिरलाई साक्षी राखेर संकल्प पत्र पढेर चुनावी अभियान प्रारम्भ गरेका हुन् ।
सत्ता गठबन्धनका उम्मेदवारहरुले वडा नं.१३ बाट निर्वाचित भएका खण्डमा वडालाई भ्रष्टचारमुक्त बनाउनुका साथै ६५ वर्ष माथिका सम्पूर्ण वडावासी नागरिकहरुको नि:शुल्क स्वास्थ्य परीक्षण र स्वास्थ्य उपचार गर्ने संकल्प गरेका छन् ।
त्यस्तै युवाहरुको लागि युवा स्वरोजगार कार्यक्रम, खेलकुद विकासको लागि खेल मैदान निर्माणका साथै पर्यटन प्रवद्र्धनको लागि धार्मिक पर्यटकीय क्षेत्रहरुको विकास र मनोरञ्जनात्मक उद्यान निर्माण गर्ने, वडाका विभिन्न जातजाति, भाषाभाषी, विभिन्न धर्म, सम्प्रदायहरुको समस्याहरुलाई हल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै कृषकहरुलाई आइपर्ने कृषिजन्य बिउबिजन, मल खाद्य खरिदमा वडाले ५०% सहयोगका साथै कृषि ऋण सस्तो व्याजदरमा उपलब्धमा गराउन पहल गर्ने, वृद्ध, असहायका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी सबैका लागि शिक्षाको पहुँच अभियान अन्तर्गत २५ गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने, जग्गा विहीन, घरबार विहीन र सुकुम्बासीहरुले भोगि रहेको समस्याहरुलाई हल गर्न धनी पूर्जा प्रदान गर्न पहल गर्ने संकल्प गरेका छन् ।
त्यस्तै जन्मदर्ता, मृत्यदर्ता, विवाहदर्ता लगायतमा लाग्ने रकममा ५०% छुट गर्ने र सेवामूखी संस्थाको नविकरण गर्दा लाग्ने रकममा समेत ५०% छुट गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।