Logo

मेची आँखा अस्पताल: २५ वर्षमा २६ लाखलाई सेवा



झापा, ३२ असार । बिर्तामोडस्थित मेची आँखा अस्पतालले करिब २६ लाख जनालाई सेवा प्रदान गरेको छ ।

स्थापनाको २५ वर्षको अवधि (सन् १९९६ देखि २०२२ को हालसम्म)मा अस्पतालले २५ लाख ९४ हजार ८१३ जनालाई सेवा प्रदान गरेको मेची आँखा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष सुरेश वंशलले जानकारी दिए ।

स्थापनाताका सन् १९९६ मा ८१३ जनाले सेवा पाएकामा सन् २०२२ को हालसम्ममा ८३ हजार ९८९ जनाले सेवा लिइसकेका छन् । सोही अवधिमा तीन लाख ३४ हजार ७०८ जनाको आँखाको शल्यक्रिया गरिएको छ भने दुई लाख २५ हजार ७५८ वटा आँखा शिविर सञ्चालन गरिएको छ । सो शिविरअन्तर्गत २६ हजार बढीको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । त्यस्तै निःशुल्क औषधि र चश्मा पनि उपलब्ध गराउने गरिएको छ ।

आँखा अस्पतालमा आउने जो–कोहीले सेवा नलिइ नर्फिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष जलकुमार गुरुङले बताए । “आर्थिकरूपमा सेवा लिन नसकेकाहरूलाई निःशुल्क उपचार गर्ने गरेका छौँ”, उनले भने, “खाने बस्ने सुविधासँगै जाने बेलामा यातायात खर्च पनि दिन्छौँ, अहिलेसम्म अस्पतालमा आएर त्यसै फर्किएका छैनन् ।”

प्रतिक्रिया दिनुहोस्