Logo

मेची पुल नाकामा चाँदीसहित महिला पक्राउ



झापा, १६ माघ । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत काँकडभिट्टा–पानीटंकी नाकास्थित पुरानो मेची पुलमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले करिब १० किलो चाँदीसहित झापाकी एक महिलालाई नियन्त्रणमा लिएको छ।

पानीटंकीस्थित ‘सी’ कम्पनीका सहायक निरीक्षक विक्रमसिंह चौधरीको नेतृत्वमा सञ्चालन गरिएको विशेष निगरानीका क्रममा शुक्रबार दिउँसो करिब १२स्४५ बजे शङ्कास्पद रूपमा हिँडिरहेकी महिलालाई रोकी जाँच गर्दा उनको झोलाबाट दानादार स्वरूपको चाँदी फेला परेको सुरक्षास्रोतले जनाएको छ।

पक्राउ पर्नेमा झापाकी ४२ वर्षीया देवीकला खड्का रहेको बताइएको छ। प्रारम्भिक बयानमा उनले भारतको बागडोग्राबाट एक अज्ञात व्यक्तिले नेपाल पुर्‍याउन भन्दै चाँदी दिएको र त्यसबापत चार हजार रुपैयाँ दिने प्रस्ताव गरेको स्वीकार गरेकी छन्। यसअघि पनि यस्तै प्रकृतिको ओसारपसारमा संलग्न रहेको उनले बताएको सुरक्षास्रोतले जनायो।

प्रारम्भिक अनुसन्धानअनुसार बरामद चाँदी भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउन लागिएको खुलेको छ। पक्राउ परेकी महिला र बरामद सामग्रीलाई थप कानुनी कारबाहीका लागि भारतीय राजस्व गुप्तचर निर्देशनालय, सिलिगुडी (दार्जिलिङ) मा बुझाइएको छ।

घटनापछि सीमा क्षेत्रमा सुन, चाँदी र अन्य बहुमूल्य वस्तुको अवैध कारोबार रोक्न निगरानी थप कडा बनाइएको सुरक्षाकर्मीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्