
झापा, १३ माघ । प्रदेश नम्बर १ सरकार अन्तर्गतको ठूलो अस्पताल मेची प्रादेशिक अस्पताल भद्रपुरमा पूर्वाधार थपिए पनि जनशक्ति भने थपिएको छैन । प्रादेशिक सरकारको स्थापनासँगै ‘मेची अञ्चल अस्पताल’ नाम फेरिएर ‘प्रादेशिक अस्पताल’ भएको छ । नयाँ भवन लागयतका पूर्वाधार र औजार पनि थपिएका छन् । तर, जनशक्तिको अभावले विरामीले लाभ पाउन सकेका छैनन् ।
२०१५ सालमा २५ शय्याबाट सुरु भएको अस्पताल २०३४ सालमा स्तरोन्नति हुँदै शय्या सङ्ख्या बढेर ५० भएको थियो । साविक मेची अञ्चलका चार जिल्लाको सबैभन्दा ठूलो र प्रदेश सरकारको ठूलो स्वास्थ्य सेवा प्रदायक अस्पतालका रूपमा परिचित यो अस्पताल भद्रपुर नगरपालिका वडा नं ८ को १२ बिघा सात कठ्ठामा फैलिएको छ । हाल यस अस्पतालको शय्या एक सय १८ रहेको छ भने प्रदेश सरकारले बढाएर दुई सय पु¥याउने घोषणा गरिसकेको छ । अस्पताललाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्ने प्रस्तावसमेत गरिएको छ ।
सुविधा सम्पन्न नयाँ भवन तयार
पचास वर्षअघि बनेको पुरानो भवन जीर्ण बनेपछि नयाँ भवन बनाउनुपर्ने आवाज धेरै पहिलेदेखि उठेको हो । तर विसं २०७४ तिर ठेक्का लागेर भर्खर नयाँ भवन निर्माण भएको छ । हालको मुख्य भवनदेखि ठीक पूर्वतिर सङ्घीय सरकारको बजेटमा नयाँ भवनको निर्माणकार्य सकिए पनि हस्तान्तरण हुन र अक्सिजन प्लान्टको पाइप लाइन विस्तारको काम मात्र बाँकी रहेको सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर मोहम्मद दिलावर रायनले बताए ।
“मुख्य भवन तयार भइसकेको छ, अक्सिजन पाइप लाइनको नयाँ भेरिएसनको अलिकति काम बाँकी छ”, उनले प्रगति सुनाउँदै भने, “सुरुको ठेक्काका शर्तबमोजिमका काम सम्पन्न भइसकेता पनि पछि दुईवटा भेरिएसनका काम थपिएका थिए । नयाँ भेरिएसनको बजेट मन्त्रालयले स्वीकृत गरेपछि छिटो काम सम्पन्न हुन्छ ।”
काठमाडौँको कन्टेन्ट प्रालिसँग अस्पताल भवन निर्माणको ठेक्का सम्झौता विसं २०७४ मङ्सिर १० गते भएको थियो । सुरुमा रु २२ करोड लागत अनुमान गरिएता पनि पछि लागत बढेर रु २७ करोड पुगिसकेको छ । कोभिड–१९ को महामारीका कारण तोकिएको अवधिभन्दा केही ढिला गरी भवनको निर्माण भएको छ ।
निर्माण व्यवसायी कम्पनीका इञ्जीनियर राम श्रेष्ठका अनुसार दुई तलाको नयाँ भवनमा छवटा ब्लक, दुईवटा लिफ्ट, चारवटा सार्वजनिक शौचालय, पाँच सय केभिएको ब्याकअप जेनेरेटर, पाँचवटा अपरेसन थिएटर, घेराबेरा पर्खालको निर्माणकार्य सम्पन्न भइसकेको छ । भवनको रङरोगनसमेत भइसकेको छ । पुरानो भवन परिसरमा रहेको अक्सिजन प्लान्टबाट सडक पार गरेर तीन सय मिटर टाढा रहेको नयाँ भवनमा पाइप लाइन विस्तार गर्नका लागि भेरिएसनको प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पु¥याइएको सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले जनाएको छ ।
नयाँ भवनको हरेक शय्या र अपरेसन थिएटरमा पाइप लाइनबाट अक्सिजन आपूर्तिको व्यवस्था मिलाइने भएको छ । यसअघि पुरानो भवनमा पाइप लाइन नहुँदा सिलिन्डरबाट अक्सिजन आपूर्ति गरिन्थ्यो ।
उपकरण थपिए, जनशक्ति थपिएन
पहिलेदेखि अहिलेसम्म प्रादेशिक अस्पतालले भोगिरहेको सबैभन्दा ठूलो समस्या भनेको जनशक्तिको अभाव हो । केही वर्ष अघिसम्म जनशक्तिसँगै आधुनिक उपकरण र प्रविधिको अभाव थियो । अहिले केही उपकरण भित्रिएका छन्, तर जनशक्ति थपिएको छैन ।
अस्पतालका सूचना अधिकारी मनोज पोखरेलका अनुसार प्रादेशिक अस्पताल भद्रपुरमा सरकारी जनशक्तिको दरबन्दी एक सय तीन जना हो । जसमध्ये आधामात्र जनशक्ति स्वास्थ्य मन्त्रालयले पठाएको छ । उनले भने, “सरकारी दरबन्दीअनुसारको जनशक्ति नभए पनि विकास समिति र अन्य निकायबाट समेत गरी आवश्यक केही जनशक्ति थपेर अस्पताल सञ्चालन भइरहेको छ ।”
अस्पतालको कर्मचारी संरचनाअन्तर्गत हाल सरकारी, गैरसरकारी र विकास समितिअन्तर्गत दुई सय ३९ कर्मचारीको दरबन्दी देखिन्छ । जसमा मेडिकल सुपरिटेण्डेन्टसहित २४ जना कन्सल्टेन्ट चिकित्सक, १५ मेडिकल अफिसर, ७७ नर्सिङ तथा पारामेडिक्स, २० ल्याब कर्मचारी, पाँच रेडियोलोजिस्ट, १५ स्वीपर, १५ सुरक्षा गार्ड र ४१ जना कार्यालय सहयोगीलगायत रहेका छन् ।
मेडिकल सुपरिटेण्डेन्ट डा टङ्क बाराकोटीले कुन–कुन फाँटमा जनशक्ति अभाव छ भनेर मन्त्रालयमा लेखेर पठाइएको जनाउँदै मन्त्रालयबाट चाँडै केही जनशक्ति पठाइदिने आश्वासन पाएको बताए । “पचास वर्षको दौरानमा सेवाग्राही र उपकरण धेरै थपिएको छ, तर दरबन्दी बढ्न सकेको छैन”, डा बाराकोटीले भने, “स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि सेवाग्राहीको भीड थामिनसक्नु छ । सरकारले कुनै पनि हालतमा चिकित्सक, नर्स, ल्याब टेक्निसियनलगायतका कर्मचारी पठाउनै पर्ने अवस्था छ ।”
बिरामी भरिभराउ
चिकित्सक तथा कर्मचारीको जनशक्ति न्यून भएता पनि अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको बढ्यै छ । मुख्य भवनमा बिरामी जाँच्नका लागि कोठा अभाव भएकाले परिसरका अन्य साना भवनमा समेत हाल ओपिडी सेवा चलिरहेको छ ।
सूचना अधिकारी पोखरेलले औसत नौ सय जना बिरामीले अस्पतालको ओपिडी सेवा लिने र इमर्जेन्सीमा ५० जनाभन्दा धेरै भर्ना हुने गरेको बताए । अस्पतालमा आएका सेवाग्राहीमध्ये ७० प्रतिशतले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार गराउँदै आएका छन् ।
अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट, १३ वटा मिर्गौला डायलासिस मेसिन, तीनवटा आइसीयू र २५ वटा एचडीयू मेसिन सञ्चालनमा रहेको उनले जानकारी दिए । सिटीस्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपीलगायतका सेवा अस्पतालमा उपलब्ध छ । नयाँ भवनमा आइसीयूको १५ शय्या, अपरेसन थिएटर चारवटा र २५ वटा पोस्टअपरेटिभ शय्या रहने उनले जनाए । अक्सिजन प्लान्टको पाइप लाइन विस्तार भएलगत्तै भवन हस्तान्तरण हुने र अस्पतालको ओपिडी र इनडोर सेवा नयाँ भवनबाट सञ्चालन गरिने तयारी भइरहेको अस्पतालका मेसु डा बाराकोटीले बताए ।