झापा, २१ वैशाख । मेची भन्सार कार्यालय मातहतका छह वटा छोटी भन्सारमध्ये अहिले एक मात्र सञ्चालनमा रहेको छ भने बाँकी पाँच कार्यालय बन्द अवस्थामा रहेका छन्। सीमापार व्यापार र राजस्व असुली सहज बनाउन स्थापना गरिएका यी नाकाहरूमा कारोबार नहुँदा अधिकांश छोटी भन्सार निष्क्रिय बनेका हुन्।
कार्यालयअन्तर्गत गौरीगन्ज–२ को आठमौजा, मेचीनगरका गाडागल्ली, बाहुनडाँगी, नकल बन्दा, सतिघट्टा तथा गौरीगन्ज–१ को महाभारा छोटी भन्सार स्थापना भएका थिए। तर हाल आठमौजा बाहेक अन्य सबै छोटी भन्सार बन्द रहेको सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिएका छन्। उनका अनुसार सञ्चालनमा रहेको आठमौजामा समेत उल्लेख्य कारोबार हुन सकेको छैन।
छोटी भन्सार सञ्चालनका लागि आवश्यक क्वारेन्टाइन, अध्यागमन तथा अन्य सेवा–सुविधा अभाव हुँदा पनि यी नाकाहरू प्रभावकारी बन्न नसकेको बताइएको छ। यता काँकरभिट्टास्थित मुख्य भन्सारमा भने सुक्खा बन्दरगाह, अध्यागमन, क्वारेन्टाइन र प्रविधियुक्त जाँच प्रणाली उपलब्ध छ।
मेचीनगर–४ को बाहुनडाँगी छोटी भन्सार विगत आठ वर्षदेखि बन्द रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्। ऐतिहासिक रूपमा महत्वपूर्ण मानिने उक्त नाकाबाट अघिल्ला समयहरूमा भारतका विभिन्न शहरसम्म आवतजावत हुने गरेको स्मरण गरिएको छ।
हाल अधिकांश छोटी भन्सारका भवनहरू जीर्ण अवस्थामा छन् र सीमापार भारतीय क्षेत्रमा पर्याप्त व्यापारिक गतिविधि नहुँदा सञ्चालनमा समस्या देखिएको छ। यसले स्थानीय व्यापार र आर्थिक गतिविधिमा समेत असर पारिरहेको सरोकारवालाहरूको भनाइ छ।





