Logo

मेची राजमार्गमा यातायात ठप्प, जनजीवन प्रभावित



फायल तस्बिर

झापा, १८ पुस । प्रदेश १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा ठप्प भएको छ ।

झापासहित पाँचथर, इलाम र ताप्लेजुङ जिल्लामा रहेको मेची राजमार्गमा बुधवार बिहानैदेखि यातायात ठप्प भएको हो ।

संयुक्त सङ्घर्ष समितिले पक्राउ परेका पहिचानवादी नेता अञ्जन राई (बुलेट किराती)को रिहाइको माग राखेर मेची राजमार्गमा यातायात बन्द आह्वान गरेको हो । समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा सञ्चालन हुने सबै किसिमका सवारी साधन नछुटेका यातायात व्यवसायीले जनाएका छन् ।

मेची राजमार्गमा यातायात बन्द आह्वानले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी साधन ठप्प हुँदा यात्रु मारमा परेका छन् । बुधवारका लागि टिकट बुकिङ गरेका यात्रुले गन्तव्यमा जान नपाई सम्बन्धित जिल्लाहरूमा रोकिएका छन् ।

संयुक्त सङ्घर्ष समितिले मङ्गलबार नै विज्ञप्ति प्रकाशित गरी बुधवार र बिहीबार दुई दिन मेची राजमार्गमा यातायात बन्द आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्