Logo

मेरा लागि गौरव, जिम्मेवारी र चुनौती छ: प्रधानमन्त्री



काठमाडौँ, ३० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाली जनताका आशाअपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कम्युनिस्ट आन्दोलनका पुराना नेता, नेकपा (माओवादी केन्द्र) का ज्येष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको आज विमोचन प्रधानमन्त्री दाहालले गोरखाका ठूला विकासका परियोजना निर्माणमा आफ्नो ध्यान गएको बताए ।

“अहिले ४६ वर्षपछि गोरखाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएर देशको कार्यकारी प्रमुखको भूमिकामा छु । बूढीगण्डकी जलविद्युत् आयोजना, बेनीघाट-आरुघाट-लार्के सडक निर्माण, जिल्लाको कृषि, पर्यटन र जडीबुटीको विकासमा मेरो ध्यान गएको छ”, उनले भने ।

गोरखाको जनप्रतिनिधि नहुँदा पनि जिल्लाको समृद्धिमा आफ्नो ध्यान केन्द्रित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “गोरखा, आरुघाट मेरो स्मृतिमा ताजै हुन्थ्यो, विगतमा पनि मैले सकेको सहयोग गरिरहेकै हुन्थेँ, अहिले त म त्यहीँको जनप्रतिनिधि छु । मेरो जिम्मेवारी अझ बढेको छ ।” करिब ४० वर्षअघि प्रधानमन्त्री दाहालले गोरखाको आरुघाटस्थित भीमोदय माध्यामिक विद्यालयमा अध्यापन गराउनुभएको थियो ।

प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा असाधारण अवस्था देखिएको उल्लेख गर्दै उनले झण्डै सिङ्गै सदन नै विश्वासको मतका पक्षमा सहमत भएको बताए । “असाधारण उचाइका साथ मलाई समर्थन प्राप्त भएको छ । प्रधानमन्त्रीमा राष्ट्रिय सहमति भएको मैले अनुभूत गरेको छु । मेरा लागि यो थप गौरव, जिम्मेवारी र चुनौतीको विषय हो ।”

उनले भने, “सिङ्गो सदन नै विश्वासको मत दिने अवस्थामा आयो । यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो । करिब राष्ट्रिय सहमति नै भयो । सिङ्गो देशलाई एकताबद्ध भएर जाने वातावरण बनेको छ, देश एकताबद्ध भएर जान्छ ।”

प्रतिक्रिया दिनुहोस्