Logo

मेरो अभिव्यक्तिलाई बबण्डर गर्न खोजियो: प्रधानमन्त्री



काठमाडौँ, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचनमा सरदार प्रीतम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबन्डर गर्न खोजिएको आरोप लगाएका छन् ।

बुधवार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गएको सोमवार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको भए पनि त्यसमाथि नै बबन्डर गर्न खोजिएको बताएका हुन् ।

उनले आफूले पुस्तक विमोचनमा प्रीतम सिंह सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभई राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको बताए ।

उनले भने, ‘एउटा किताब विमोचन गर्दै गर्दा उहाँ (प्रीतम सिंह) ले बोलेको कुरा मैले बोल्दा बबन्डर मच्चाउन खोजियो । मलाई प्रधानमन्त्री बनाउन उहाँ कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो उहाँ भन्ने उहाँको बारेमा भनेको कुरालाई लिएर बबन्डर गर्न खोजिएको छ । यसबाट हाम्रा विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्ने कुरा देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्