Logo

मेरो उम्मेदवारी अन्तिमपटकका लागि: ठाकुर



महोत्तरी, २६ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसपटक आफ्नो उम्मेदवारी अन्तिम पटकका लागि रहेको बताएका छन् ।

महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका उनले यसपछि आफूले अब निर्वाचन नलड्ने बताएका हुन् ।

अध्यक्ष ठाकुरले मत माग्ने तथा घरदैलो गर्ने क्रममा मतदातालाई आफूलाई अन्तिमपटकका लागि भोट दिन आग्रह गर्दै आएका छन् ।

यसअघि विसं २०७४ पनि यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी मधेसको पहिचान र हक-अधिकारसम्बन्धी केही काम गर्न बाँकी रहेकाले त्यही बाँकी काम गर्नका लागि आफूलाई पुन: एकपटक जिताउन जनतासँग आग्रह गर्दै मत मागिरहेका छन् ।

मतदाताले विकासको कुरा गर्दा उनले विकासभन्दा पनि कानुन निर्माणका लागि र मधेस तथा मधेसीको हक-अधिकार स्थापित गराउनका लागि बढी समय दिने गरेको तर्क गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्