Logo

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन बिर्तामोडमा हुने

अमेरिकाको कोलम्बसबाट अडिसन प्रारम्भ



झापा, २७ माघ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ सिजन–२ को अडिसन पूर्वको लागि चैत २ र ३ गते बिर्तामोडमा हुने भएको छ ।

आज (आइतवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरी अडिसनबारे आयोजकले जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि बरिष्ठ गीत तथा संगीतकार साधक शिवशंकर थापाले यस्ता प्रतियोगिताल आफ्नो भाषा संस्कृतिसँगै कला–संगीतको श्रीबृद्धिमा टेवा मिल्ने बताए। कार्यक्रममा संगीतकार दीपक रायमाझीले कार्यक्रम सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

मानविय सेवामा समर्पित इन्ट्रा–नेशनल वेलफेयरले नेपाली भाषा र कला–संगीतलाई जीवन्त राख्न प्रतियोगिता आयोजना गर्न लागेको पूर्व नेपाल संयोजक रुपक ओडारीले बताउनुभयो । ‘विश्वमा छरिएर रहेका नेपालीलाई एक सुत्रमा बाँध्न पनि प्रतियोगिता आयोजना गर्न लागिएको हो’ ओडारीले भन्नुभयो ‘यसमा सबैको सहयोग अपरिहार्य छ ।’

सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइट www.intrafoundations.org बाट आवेदन दिन सक्ने छन् । अडिसनबाट भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस प्रतिष्पर्धीहरु छनोट गरिने संयोजक ओडारीले बताउनुभयो । ।

पत्रकार सम्मेलनको सहजीकरण गर्दै इन्ट्रा–नेशनल वेलफेयरका नेपाल–भारत संयोजक राजेश घतानीले अडिसनका लागि आवेदन खुला गरिएको बताउनुभयो। उहाले पूर्व अडिसनमा दुवै विधामा करिब ५ सय जनावढीले आवेदन दिने बताउनुभयो । एक सय जनाले अनलाइनमार्फत् आवेदन दिइसकेको समेत उहाले जानकारी दिनुभयो।

संसारका ५ महादेशहरूमा पर्ने १२ देशका १४ शहरहरूमा तय गरिएका यी अडिसनहरूको सुरुवात अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ ।

अमेरिका र क्यानडाका नेपाली जातिका गायन र नृत्यका प्रतिभाहरू सम्मिलित एक भव्य समारोहका बीच आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर शुभारम्भ गर्नुभएको थियो ।

अमेरिकाबाट सुरु भएको अडिसन युरोपका लण्डन र पोर्चुगल, जापानको टोकियो, चीनको हंगकंगमा फेब्रुअरी १५ र १६ मा हुंदै छ भने अष्ट्रेलियाको सिड्नीमा फेब्रुअरी २३, थाइल्याण्डको बैकक, युएईको दुवाईमा फेब्रुअरी २२ र २३ मा हुने आयोजकले जनाएको छ । त्यसैगरी कतारको दोहामा फेब्रुअरी २१ मा र भारतको मुम्बईमा मार्च १ र २ मा अडिसन हुने छन् ।

विश्वभर छरिएर रहेका नेपाली कलाकारहरूबीच प्रतिष्पर्धा गराइने यी दुबै शोहरूका विजेताले १ करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख पुरस्कार पाउने छन् ।

पत्रकार सम्मेलनमा इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका सदस्य देउमान भारती, समाजसेवी झलक मगर, नेपालका लागि पूर्व समिति सदस्य राम बानियाँ, गोपाल अधिकारी, संगीतकार ध्रुव पाठक, कृष्ण योन्जन, दीपक रायमाझीलगायत सांगेतिक क्षेत्रका बिशिष्ठ ब्यक्तित्व, सामाजसेवी, चलचित्रकर्मीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्