Logo

मेरो मौनता आजसम्मका लागि मात्रै हो: रवि लामिछाने



काठमाडौँ, १९ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आफू चुप लागेर नबस्ने बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेखेर लामिछानेले आजसम्म चुप लागे पनि अब आफूले मौनता तोड्ने बताएका हुन् ।

‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन’, उनले लेखेका छन् ।

महाभारत कथाअनुसार अभिमन्यूले कौरव पक्षको व्यूह रचना चक्रव्यूहको भेदन गरेका थिए । कथाअनुसार अभिमन्युले आफ्नो आमाको कोखमा रहँदा नै अर्जुनको मुखबाट चक्रव्यूह भेदन गर्ने रहस्य जानेका थिए । तर सुभद्रा बीचैमा निदाएकोले उनले व्यूहभन्दा बाहिर आउने विधि सुन्न पाएका थिएनन् । अभिमन्युको मृत्युको कारण जयद्रथ थिए जसले अन्य पाण्डवलाई व्यूहमा प्रवेश गर्नबाट रोकेका थिए । यही पात्रलाई उल्लेख गर्दै लामिछानेले आफू अभिमन्यु नभएको बताएका हुन् ।

सर्वोच्च अदालतले लामिछानेको नागरिकता नै अवैध भएको फैसला गरेसँगै उनको सांसद र उपप्रधान एवम् गृह मन्त्री पद खारेज भएको छ । तर पुन: गृह मन्त्रालय पाउनुपर्ने अडान लिएर सरकारबाटै बाहिरिनेसम्मको चेतावनी दिएपछि लामिछानेको चर्को आलोचना भएको छ ।

उनले गृह मन्त्रालयको अडान नछाडेको र नागरिकता प्रकरणमा दोषी ठहर भइसक्दा समेत कुनै गल्ती महसुस नगरेको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्