Logo

मेलम्चीको पानी काठमाडौँवासीलाई नियमित उपलब्ध गराउँछौँ: प्रधानमन्त्री



काठमाडौँ, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी नियमितरुपमा उपलब्ध गराइने बताएका छन् ।

सिंहदरबारमा आज आयोजित मेलम्ची खानेपानीको पथान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले दिगोरुपमा खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले खानेपानीको दिगो व्यवस्थापनका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उल्लेख गरेका थिए । काठमाडौँ उपत्यकाको जनसङ्ख्याको चापलाई ध्यानमा राखेर खानेपानीको बढ्दो माग र आपूर्ति पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

“काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ । मेलम्ची खानेपानी आयोजनाको हेडबक्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ”, प्रधानमन्त्री दाहालले भने ।

आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई पुन:निर्माण कार्य कार्यान्वयन गरिने तथा हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रैमास सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालले सम्बन्धित पदाधिकारीलाई निर्देशन दिए । उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सैँ घण्टा उपभोक्ता सदस्यको धारामा वितरण गर्ने व्यवस्था मिलाउनसमेत उनले निर्देशन दिएका हुन् ।

“सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौँ उपत्यकामा नयाँ वितरण प्रणाली र फोहर पानी प्रशोधन प्रणालीसमेत विकास गरिनेछ”, प्रधानमन्त्री दाहालले भने । सिएमसी कम्पनीले बीचमै काम छोडेर जाँदा बाँकी रहेको दायित्व कसरी भुक्तानी गर्ने भन्ने विषयमा डा.दिलबहादुर गुरुङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्