
सिन्धुपाल्चोक, १ पुस । सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौँ पुर्याउन आग्रह गरेका छन् ।
मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु-१ अम्बाथानको आज निरीक्षण गर्दै उनले सक्दो चाँडो काठमाडौँका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिएका हुन् ।
सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगकोसमेत निरीक्षण गरेका थिए । मेलम्चीको पानी काठमाडौँ लैजान ढिलाइ भइरहेको सन्दर्भमा उनले यसबारे सम्बन्धित निकायबाट जानकारी लिएका हुन् ।
सो अवसरमा मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनीयर पदमबहादुर कुँवरले मेलम्चीमा हाल भइरहेको कामका बारेमा सभामुख घिमिरेलाई जानकारी गराएका थिए ।






