झापा, १९ जेठ । बिर्तामोड आसपासमा मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरीमा संलग्न व्यक्तिसँगै चोरिएका १२ वटा मोटरसाइकलसमेत बिहीबार इलाका प्रहरी कार्यालय अनारमनीले सार्वजनिक गरेको हो ।
प्रहरीले बिर्तामोड-५ का १८ बर्षीय करण मण्डल, बिर्तामोड-३ का १९ बर्षीय कुमार राजवंशी, अर्जुनधारा-८ का १८ बर्षीय समीर मियाँ, टिकुली-५ सप्तरीका २७ बर्षीय करण महमद, गौरीगंज-५ का १८ बर्षीय ओम प्रकाश यादव, चुलाचुली इलामका १८ बर्षीय राहुल श्रेष्ठसहित १४ /१५ बर्षका झापाका दुई जना नाबालकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।
पक्राउ परेकाहरु मध्ये केहि पहिलापनि अपराधिक गतिविधि गरेको अभियोगमा पक्राउ परेर छुटेकाहरु भएको उनले बताए । दुले चोरका रुपमा रहेका उनीहरु अहिले बाइक चोरीमा संलग्न भएको उनको भनाई छ ।
प्रहरीले प्रक्राउ परेका गिरोहले चोरी गरेको १२ वटा मोटरसाइकलसमेत सार्वजनिक गरेको छ । प्रहरीले ४ वटा बजाज, ५ वटा हिरो होण्डा, एउटा टिभिएस, एउटा यामाहा र एउटा सुजुकी कम्पनीको बाइक सार्वजनिक गरेको हो । चोरिएका अधिकांश बाइकहरु अर्जुनधारा-८ कदमगाछी र अर्जुनधारा-१० मा करण महमदले सञ्चालन गरेको ग्यारेजबाट बरामद गरिएको कुँवरले बताए । उनका अनुसार एउटा बुधबारे र एउटा चोरी गरेर लैजाँदै गरेको अवस्थामा इलामबाट पक्राउ गरिएको हो ।
महमदको योजनामा बाइक चोरी गर्ने र चोरिएका बाइक ग्यारेजमा लगेर महमदले मोडिफाई गर्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताए ।







