Logo

मोटरसाइकल दुर्घटनाका घाईते संजिप गिरीको पनि मृत्यु



झापा, २५ असोज । झापाको भद्रपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा घाईते भएका संजिप गिरीको पनि मृत्यु भएको छ । यो संगै दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

गएराति एकजना मोटरसाइकल चालकको मृत्यु भएको थियो भने आज दिउँसो अर्का मोटरसाइकल चालकको पनि मृत्यु भएको हो । मे ८ प २८३५ नम्बरको मोटरसाइकलका चालक भद्रपुर– ८ का २५ वर्षीय संजिप गिरीको आज दिउसो मृत्यु भएको हो । उनको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताउनुभयो ।

मेची राजमार्गअन्तर्गत चारआली– चन्द्रगढी सडकखण्डको भद्रपुर नगरपालिका– १० स्थित हनुमान चोकमा राति चारआलीबाट चन्द्रगढीतर्फ जादै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल चालक भद्रपुर– १० केन्द्रमोडका २३ वर्षीय आलोक भण्डारीको मृत्यु भएको थियो ।

त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार भद्रपुर नगरपालिका– १० का २४ वर्षीय बिपान्सु राउत र मे ८ प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर– ८ का २५ वर्षीय संजिप गिरी घाइते भएका थिए । राउत र गिरीको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको थियो । उपचारको क्रममा गिरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्