Logo

मोरक्कोमा भूकम्प: २९६ जनाको ज्यान गयो, १५३ घाइते



मोरक्को, २३ भदौ । मध्य मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा २९६ जनाको ज्यान गएको छ १५३ जना घाइते भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।

उक्त भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्स रहेको थियो जुन माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ । यूएस जिओलोजिकल सर्भेले त्यसको गहिराई १८.५ किलोमिटर रहेको उल्लेख गरेको छ ।

स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको थियो । त्यसको १९ मिनेटपछिको परकम्प ४.९ म्याग्निट्यूडको मापन गरिएको छ ।

भवनमा क्षति

सामाजिक सञ्जाल एक्समा राखिएका भिडिओमा भत्किएका भवनहरू, हल्लिरहेका घरहरू र चोकमा जम्मा भग्नावशेषहरू देख्न सकिन्छ ।

धुलोको मुस्लोहुँदै मानिसहरू हिँडिरहेको र केही मानिसहरू भागिरहेको पनि देख्न सकिन्छ । माराकेशको पुरानो शहरका कतिपय भवनहरू ध्वस्त भएको एक जना स्थानीय बासिन्दाले बताएका छन् ।

सामाजिक सञ्जाल एक्सका कैयौँ क्लिपहरूमा भवनहरू भत्किरहेको देख्न सकिन्छ तर बीबीसीले ती कहाँका भवनहरू हुन भन्ने पुष्टि गर्नसकेको छैन । शक्तिशाली परकम्प आउन सक्ने डरले मानिसहरूले आफ्ना घर बाहिर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्