मोरक्को, २४ भदौ । मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने मानिसहरूको सङ्ख्या दुई हजार नाघेको छ र त्यत्ति नै सङ्ख्यामा मानिसहरू घाइते भएको अधिकारीहरूले बताएका छन् ।
गम्भीर रुपमा घाइते भएकाहरूको सङ्ख्या १ हजार ४०० भन्दा धेरै रहेको आन्तरिक मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी मानवीय क्षति माराकेशको दक्षिणमा रहेको प्रान्तमा भएको छ ।
राजा महम्मद छैठौँले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् र आवास, खानेकुरा र अरू सहयोगहरू मानिसहरूलाई उपलब्ध गराउन आदेश दिएका छन् ।
धेरै मानिसहरूले दोस्रो रात पनि आकाशमुनी बिताइरहेका छन् । शुक्रवार राति गएको ६.८ म्याग्निट्यूडको भूकम्पले माराकेश र धेरै शहरहरुमा असर गरेको थियो । दुर्गम पहाडी इलाकामा पुरै गाउँहरू नै ध्वस्त भएका विवरण आएका छन् ।







