मोरङ, ६ जेष्ठ । मोरङको ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेस तथा उर्लाबारी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।
ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु सात हजार ६०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा एमालेकी गुणावतीदेवी थारु ६ हजार १२३ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुखनीकुमारी माझीले पाँच हजार ४४८ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी उर्लाबारी नगरपालिकाको प्रमुखमा एमालेका गङ्गाप्रसाद खरेल १२ हजार १५६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्गबहादुर फागोले १० हजार २९० मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखमा एमालेकी मीनाकुमारी खतिवडा १० हजार ७२८ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सीता कार्कीले १० हजार ६४० मत प्राप्त गरेकी छन् ।