मोरङ, ३१ बैशाख । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ ।
विवाहमा माइक बाँसमा बाँधेकोमा अचानक आएको हावाहुरीले माइक बाँधेको बाँस ढल्न गई हाइटेन्सन लाइनमा छुन पुग्दा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको हो ।
मोरङ रतुवामाई नगरपालिका– ३ मिर्चाडाँगी बस्ने मंगललाल सिंहका छोरा निरजकुमार सिंहको विवाहमा गएराति माइक बाँसमा बाँधेकोमा अचानक आएको हावाहुरीले माइक बाँधेको बाँस ढल्न गई हाइटेन्सन लाइनमा छुन पुग्दा करेन्ट प्रवाह भई उनका छिमेकी सतारुलाल गनगाईकी श्रीमती ७३ वर्षीया सूर्यदेवी गनगाई र सोही ठाउँ बस्ने जतरुलाल गनगाईकी श्रीमती ७० वर्षीया रामुदेवी गनगाईको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि रंगेली अस्पताल रंगेलीमा लगिएकोमा उपचारको क्रममा राति १० बजे दुबै जनाको मृत्यु भएको थियो ।
त्यस्तै सोही ठाउँ. बस्ने ३० वर्षीया राधाकुमारी सिंह घाइते भएकी छन् । उनलाई नगर अस्पताल झुर्कियामा सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । दुवैको शव रंगेली अस्पतालमा रहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।