Logo

मोरङमा हात्तीको आक्रमणबाट माझीको मृत्यु



मोरङ, १८ मङ्सिर । मोरङको बेलबारी नगरपालिका-१० स्थित भाउन्नेको जङ्गलमा हात्तीको आक्रमणमा परेर एक पुरूषको मृत्यु भएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको आज मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । उनले लेटाङ नगरपालिका-३ घर भएका माझीलाई साइकलमा घरेलु मदिरा बनाउने मर्चा बोकेर यात्रा गरिरहेका बेला सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै निधन भएको उल्लेख गरेका छन् ।

माझी लेटाङस्थित घरबाट बेलबारी लक्ष्मीमार्गको बजारतर्फ साइकलमा आउँदै गरेको बेला जङ्गली हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ । बाटो हिँड्नेले जङ्गलमा आज शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गर्दै शव परीक्षणका लागि उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरतर्फ पठाएका थिए । लेटाङ तथा भाउन्ने आसपासमा रातभर दुई दर्जनभन्दा बढी छावा (बच्चा) सहितको जङ्गली हात्ती देखापरेकाले स्थानीयको सहयोग लिएर प्रहरीले हात्तीको बथानलाई जङ्गलतर्फ धपाउने काम गरेको यहाँका स्थानीयले बताएका छन् ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा केही दिनदेखि जङ्गली हात्तीको आङ्तक बढेको छ । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा उपद्रो मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भएका छन् । सर्वसाधारणको घर भत्काइ दिनेदेखि बालीनाली खाने र मान्छे मार्नेसम्मको वितण्डा जङ्गली हात्तीले मच्चाइरहेको मोरङ प्रहरीका प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्