काठमाडौँ, २३ मंसिर । काठमाडौंको गोठाटारमा ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्जी)को अनुसन्धानमा हत्यासम्बन्धी घटनाको भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी)ले चासो देखाएको छ । भारतीय नक्कली नोटको अनुसन्धान तथा आतंकवादी समूहहरूको अनुसन्धानमा क्रियाशील आइबीले मोहम्मद हत्या प्रकरणको अनुसन्धानमा पनि चासो देखाएको नेपाल प्रहरीको उच्च स्रोतले जनाएको छ ।
हत्याका मुख्य योजनाकार भारतका बब्लु पासवान रहेको खुले पनि नेपाल प्रहरीले उनलाई पक्राउ गर्न नसक्नुको प्रमुख कारण आइबीको चासो र भारतीय प्रहरीको असहयोग रहेको स्रोतको दाबी छ ।
बिहार रक्सौलका पासवान मोहम्मद हत्याका मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । तर भारतीय पक्षले पासवानलाई पक्राउ गर्न मात्रै होइन, घटनाको थप अनुसन्धान अघि बढाउन पनि अवरोध गरिरहेको छ ।
मोहम्मद हत्या घटनाको अनुसन्धानमा आइबीले अनावश्यक चासो दिएपछि नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले अवरोध नगर्न आग्रह गरेको स्रोतले बतायो । आजको नागरिक दैनिकमा समाचार छ ।







