Logo

मौद्रिक नीति भोलि ल्याउने राष्ट्र बैंकको तयारी

शुक्रबार बिहान बोर्ड बैठक बस्दै



काठमाडौं, १० साउन । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। सरकार परिवर्तनले गर्दा केहि ढिलाई भएको नीति भोलि सार्वजनिक गर्ने गरी तयारी गरिएको राष्ट्र बैंकले जनाएको छ।

मौद्रिक नीतिको तयारी सबै सकिएको भएपनि सरकार परिवर्तनले गर्दा नीति सार्वजनिक गर्न केहि ढिलाई भएको थियो। राष्ट्र बैंकले गत शुक्रबार नै नीति सार्वजनिक गर्ने तयारी गरेपनि सरकार परिवर्तनपछि मौद्रिक केहि ढिलाई भएको थियो। गत साता नै राष्ट्र बैंकको उच्च व्यवस्थापन तहले मौद्रिक नीति पारित गरिसकेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले मौद्रिक नीतिमा थप परिवर्तनको आवश्यकता रहेको भन्दै केहि पर सार्न भनेकाले गर्दा मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई भएको हो।

राष्ट्र बैंकले यस पटक अर्थतन्त्र चलायमान हुनेगरी लचिलो व्यवस्थासहित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कर्जा विस्तार बढाउने गरी मौद्रिक नीतिमा केहि नीतिगत परिवर्तन गर्ने तयारीमा राष्ट्र बैंक छ।

राष्ट्र बैंकले यसपटक निर्माण क्षेत्रलाई विशेष सहुलियत दिने देखिएको छ। यस्तै घरजग्गा र शेयर बजारमा पनि केन्द्रीय बैंकले थप लचिलो बन्ने संकेत दिएको छ। शेयर धितो कर्जाको जोखिमभार घटाउने तयारी राष्ट्र बैंकको छ। यसैगरी बैंकहरुको नाफा बढ्ने गरी केहि नीतिगत परिवर्तन राष्ट्र बैंकले गर्न खोजेको छ।

प्रतिक्रिया दिनुहोस्