Logo

म्याग्दीको मुख्य सडक अवरुद्ध



फायल तस्बिर

म्याग्दी, १६ असोज । अबिरल वर्षाको कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् ।

गए रातिदेखि परेको अबिरल वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेका हुन् ।

बेनी-जोमसोम सडकखण्ड र बेनी-दरबाङ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका-४ फापरखेतको घुमाउने भिर र मालिका गाउँपालिका-६ को बाङ्गे पहिरोमा सडक अवरुद्ध भएको छ ।

त्यसैगरी बेनी-जोमसोम सडकखण्डको रघुगङ्गा गाउँपालिका-२ बैँसरी, कुनौटा, अन्नपूर्ण गाउँपालिका-२ नैनिबगर र वडा नं ३ को गुइँठेलगायत क्षेत्रमा पहिराले सडक अवरुद्ध भएको बेनी-जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

उनका अनुसार वर्षा नरोकिएको कारण पहिरो पन्छाएर सडक खुलाउन समस्या भएको छ । निरन्तर पहिरो खसिरहेका कारण सडकखण्डमा सवारी सञ्चालन हुनसकेको छैन । बेनी-जोमसोम सडकखण्ड पहिराले अवरुद्ध भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङका सर्वसाधारणका साथै पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको छ ।

सोह्रश्राद्धमा पितृ उद्धारका लागि मुस्ताङको कागबेनीमा जाने तीर्थालुको चाप बढेको समयमा सडक अवरुद्ध भएपछि मुस्ताङ जाने र फर्कनेहरू बीच बाटैमा रोकिएका छन् । पहिरोले ठाउँ-ठाउँमा सडक अवरुद्ध बनाउने भएकाले सम्बन्धित सडकको अवस्थाबारे सूचना लिएर मात्रै यात्रा गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्