म्यानमार, २६ असोज । सैनिक शासन रहेको म्यानमारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुचीलाई थप दुई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।
अब उनलाई दुई तीन वर्षको जेल सजाय एकैसाथ हुनेछ । पहिलेको सुनाइएको सजायमा यो थपिएको छ । बुधबार सुनाइएको निर्णयअनुसार नेत्री सुचीलाई २६ वर्षको जेल तोकिएको छ ।
सतहत्तर वर्षीया सुचीलाई गत वर्षको फेब्रुअरी १ मा सेनाले उनको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि हिरासतमा राखेको थियो । उनले आफूमाथि लगाइएका आरोपको अस्वीकार गरेकी छन् ।
नेत्री सुचीमाथि लागुऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट पाँच लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो । सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता नेत्री सुचीविरुद्ध सेनाले लगाएका धेरै आरोपमा भ्रष्टाचारका मुद्दा सबैभन्दा बढी छन् । नेत्री सुचीलाई भ्रष्टाचार विरोधी ऐन अन्तर्गत जम्मा १२ वटा मुद्दा लगाइएको छ जसमा प्रत्येकलाई १५ वर्षसम्मको जेल सजाय र जरिवाना हुनसक्छ ।
उनलाई अवैध रूपमा वाकी-टकीहरू आयात गरेर राखेको, कोरोना भाइरसविरुद्धका प्रतिबन्धहरू उल्लङ्घन गरेको, देशको गोप्य ऐन उल्लङ्घन गरेको, देशद्रोह गरेको, चुनावमा ठगी गरेको तथा भ्रष्टाचारका पाँच आरोपमा दोषी ठह¥याएपछि २३ वर्षको जेल सजाय सुनाइएको थियो ।
नेत्री सुचीका समर्थकहरू र स्वतन्त्र विश्लेषकहरूले ती आरोप राजनीतिक रूपमा प्रेरित रहेका र उनलाई बदनाम गर्ने तथा सेनाको सत्ता कब्जालाई वैधानिक बनाउने प्रयास भएको बताएका छन् । आगामी वर्ष हुने निर्वाचनमा उनलाई भाग लिनबाट रोक्ने प्रयासमा सेनाले ती आरोप लगाएको उनीहरूको कथन छ ।