
म्यानमार, ३१ साउन । म्यानमारको उत्तरी काचिन राज्यमा बहुमूल्य रत्न ‘जेड’ खानीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये १९ जनाको शव निकालिएको छ ।
ज्यान गुमाउनेहरु सबै पुरुष रहेका छन् । त्यहाँ खोजी र उद्धारको काम भैरहेको हपाकान्त प्रहरी चौकीका हान विन ह्लिङलाई उद्धित गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
स्थानीय समय अनुसार आइतवार म्यानमारको जेड उद्योगको केन्द्र हपाकान्तको माना गाउँ नजिकैको जेड खानीमा ३० जनाभन्दा धेरै मानिस बेपत्ता भएका थिए ।
म्यान्मारको कचिन प्रान्तमा विश्वकै सबैभन्दा ठूला जेड खानीहरू छन् । त्यहाँ मानिसहरू ज्यान जोखिममा पारेर काम गर्न बाध्य छन् । खानीमा विगतमा पनि ठूला दुर्घटना भएका छन् ।







