Logo

म्यानमारमा सेनाको हवाइ आक्रमण: ५३ जनाको मृत्यु



म्यानमार, २९ चैत । म्यानमारमा सेनाले हवाइ आक्रमण गर्दा कम्तीमा ५३ जनाको मृत्यु भएको छ ।

सैन्य ‘कू’ विरोधीहरूको केन्द्र मानिएको सहर पाजिगीमा भएको हवाइ आक्रमणमा अन्य कैयौँ घाइते भएका बीबीसीले जनाएको छ ।

स्थानीय तथा प्रत्यक्षदर्शीहरूले यस आक्रमणलाई सैन्य कू भएयताकै घातक आक्रमण भनेका छन् । सरकारविरोधी संघर्षमा उत्रिएको विद्रोही समूहको एक प्रशासनिक कार्यालयको उद्घाटन समारोहका लागि भेला भइरहेका वेला सैन्य आक्रमण भएको हो । आक्रमणबारे म्यानमारको सेनाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

म्यानमारमा सैन्य कू का नेता मिन आङ ह्विङले गत महिना आफ्नो शासनविरुद्ध लडिरहेका ’आतंकवादीहरू’ माथि निर्णायक कारबाही गर्ने चेतावनी दिएका थिए ।

म्यानमारमा आङ सान सूचीको पार्टीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले २०२१ फेब्रुअरी १ मा कू गरेको थियो । त्यसयता भएका विभिन्न प्रदर्शनमा हजारौँको मृत्यु हुनुका साथै हजारौँ घाइते भएका छन् भने ठूलो संख्यामा पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्