काठमाडौँ, २९ साउन । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन् ।
युरोप भ्रमण छोट्याएर फर्केका नेता नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले आफूले कुनै बदमासी नगरेको र भाग्ने खालको मान्छे नभएको बताएका हुन् ।
नेपालले राजाले पक्राउ गर्दा पनि आफू नभागेको भन्दै गल्ती नै नगरि भाग्नुपर्ने कारण नभएको बताए । उनले माधव नेपाल भाग्यो भनेर विभिन्न सञ्चार माध्यममा समाचारहरू आएपछि भ्रमण छोट्याएर भए पनि फर्किएको बताएका छन् ।
‘कतिपयले माधव नेपाल भाग्यो भनेर लेखे । माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपथ्र्यो । राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हाेइन । कुनै गल्ती अपराध बदमासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ । कानूनको प्रक्रिया अन्तर्गत सबै कार्यक्रममा भाग लिएर फर्किउँला भन्ने थियो । केहीकेहीले त माधव नेपाल भागे लुकेर बसेका छन् । फर्किने हिम्मत छैन । म बोल्दिनँ चुनौतीको सामना गर्छु,’ अध्यक्ष नेपालले भने ।
नेपालले युरोप भ्रमणमा आफू पूर्वनिर्धारित कार्यक्रम अनुसार गएको भन्दै आफू जानुभन्दा एकदिन अघि ललिता निवास प्रकरणमा छानबिन अगाडि बढाउनु भनेर अदालतले भनेको बताए । उनले आफू प्रधानमन्त्री भएको बेलामा ललिता निवास जग्गा प्रकरणको विषय जोडिएको स्विकार गरेका थिए ।
‘बालुवाटारको जग्गाको विषयमा छानबिन होस् । मेरो तर्फबाट जुन सहयोग गर्नुपर्ने भए मेरो सहयोगी भूमिका रहनेछ । निर्दोष नफसुन, दोषी नउम्किउन’ अध्यक्ष नेपालले भने, ‘मैले नितान्त असल मनसायले सरकारको जग्गा सरकारको नाममा हुनुपर्छ । कागजपत्र नभए स्रेस्ता कायम गर्ने भनेर राम्रो गरेको हुँ । सरकारी जग्गा र अन्य जग्गा कानुनसम्मत गर्ने निर्णय भएको हो ।’







