Logo

यति एयरलाइन्स विमान दुर्घटना अपडेट: २६ जनाको पहिचान खुल्यो



पोखरा, २ माघ । यति एयरलाइन्स विमान दुर्घटनामा परेकामध्ये ६८ जनाको शव फेला परेको छ ।

फेला परेका ६८ शवमध्ये २६ जनाको पहिचान खुलेको छ । ६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

पाँच जनाको शव देखिए पनि सेती खोँचबाट निकाल्न सकिएको छैन । पोखराको सीताराम पुल नजिकै सेती खोँचमा दुर्घटना भएको विमानमा ७२ जना रहेका थिए । अन्य चार जनाको अवस्था अझै खुलेको छैन।

पहिचान खुलेकाहरुको शव आज आफन्तलाई जिम्मा लगाइने कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए । पहिचान खुल्ल नसकेका शवलाई काठमाडौँ लगेर डीएनए परीक्षण गरिने उनले बताए ।।

पहिचान भएकाहरुमा पोखरा-११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा- १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा-१७ घर भइ अहिले बालाजु बस्ने सङ्गीता शाही, पोखरा-४ का डा.सुशील श्रेष्ठ र उनकी श्रीमती डा.सोना दिवाकर, पर्वतको कुष्मा-१ का १० वर्षका रियान पौडेल, पोखरा-१३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा-७ की लक्ष्मी पौडेल, पर्वत कुष्मा-९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धि, पर्वत मोदी-१ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा-२२ का रक्की गुरुङ छन् ।

यस्तै, रुपन्देही शङ्करनगर-८ का डा.गणेश थापा, काठमाडौँकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा-८ की एसमिन गुरुङ, पोखराको बुद्ध चोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती-६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्