काठमाडौँ, १२ चैत । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन सांसदहरुलाई आग्रह गरेकी छन् ।
सोमबार सिंहदरबारमा सांसदहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले सो आग्रह गरेकी हुन् ।
मन्त्री साहले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने खालको रणनीतिक योजना सरकारले तय गर्न लागेकाले पनि त्यस सम्बन्धमा सांसदहरुले दिएको सुझाव महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।
उनले भूबनावट अनुसारको योजना तय गरी आयात हुने कृषि उपजहरुलाई प्रतिस्थापन गरी निर्यात व्यापारलाई बढावा दिने काममा सांसदहरुले दिएको सुझाव फलदायी हुने पनि बताइन् ।
मन्त्री साहले छुर्पी, खुवा, अलैँची, कफीहरुको उत्पादन बढाएर निर्यात गर्नका लागि पनि सरकारलाई सुझाव पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरेकी थिइन् ।
उनले भनिन्, ‘मलाई लाग्यो कि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समावेश गर्नेगरी माननीयज्युहरुसँग सुझाव लिँदा राम्रो हुन्छ । हुन त मधेसमा आज होली पनि हो । होलीलाई मैले प्राथमिकता नदिएर मेन तपाईहरुलाई आज प्राथमिकताका साथ यो कार्यक्रम राखियो । यो अन्तरक्रिया कार्यक्रममा सबै माननीयज्युहरु आइदिनुभएकोमा विशेष गरी म मन्त्रालयको तर्फबाट एउटा मन्त्री भएको हिसावबाट सबैलाई म धन्यवाद दिन चाहन्छु ।’