काठमाडौँ, २६ भदौ । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । तर, बिहानै घाम लागे पनि फेरि बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार केही समयपछि नै मौसम बदली हुने सम्भावना छ । आज दिउँसोपछि धेरैजसो पहाडी क्षेत्रमा पानी पर्ने अनुमान गरिएको छ ।
तराईका जिल्लामा भने थोरै ठाउँमा मात्रै पानी पर्ने अनुमान रहेको मौसमविद् प्रधानाङ्गले बताए । उनका अनुसार दिउँसो आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
यस्तै, राति सुदूरपश्चिम र गण्डकी प्रदेशका एक-दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । आजभन्दा भोलि र भोलिभन्दा पर्सि झन् धेरै ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ ।






