काठमाडौँ, ३ साउन । मनसुन फेरि सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
आज बिहान काठमाडौँमा पानी परेको थियो भने प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
उनका अनुसार आज दिउँसोदेखि देशका धेरै ठाउँमा नै पानी पर्ने सम्भावना छ । अबको तीन दिनसम्म नै मौसम बदली भई धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन् ।
आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । यस्तै, राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद्ले बताएका छन् ।
लगातार तीन दिन पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने भन्दै मौसमविद्ले सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । पर्सि दिउँसोदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । मनसुनको न्यून चापीय रेखा सामान्य अवस्था भन्दा केही माथि अर्थात नेपालतिर सरेकाले मनसुन फेरि सक्रिय भएको हो ।







