काठमाडौँ, ५ साउन । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ ।
बाढी पूर्वानुमान महाशाखाले पछिल्लो दुई घण्टामा ललितपुरको गोदावरी र आसपास लगायत काठमाडौँ उपत्यकाका केही ठाउँमा भारी वर्षा भएको जनाएको छ ।
गोदावरी खोला, हनुमन्ते खोलालगायत नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ । यी क्षेत्रका खोला किनारमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै सिन्धुपाल्चोक मेलम्चीको नकोटे र आसपासमा पनि भारी वर्षा मापन भएको छ । मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह १ दशमलव ५ मिटरले बढेको छ ।
साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले आज बिहानसम्म उच्च सतर्कता अपनाउन भनिएको छ । आज पनि देशका पहाडी भू-भागका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी सुदूरपश्चिम र प्रदेश-१ का एकरदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।







