
झापा, १२ भदौ । झापासहित देशभर नै झरी परिरहेको छ । गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ ।
आज दिनभरि नै पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार आज वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्ने छ ।
आज राति पनि गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र अन्य प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
पछिल्लो चार घण्टामा मकवानपुर, धादिङ, अर्घाखाँची, दाङ, सुनसरी, सप्तरी, सोलुखुम्बु र सिन्धुपाल्चोकमा ठूलो वर्षा भएको छ । बाढी पहिरोको जोखिम रहेकाले नदी छेउछाउ तथा भिरालो जमिनमा बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।






