Logo

यस्तो छ आजको मौसम



काठमाडौँ, १८ असोज । गएराति देशका केही ठाउँमा ठूलो वर्षा भएको छ । वाग्मती प्रदेशसहित लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको मौसमविद्ले बताएका छन् ।

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । उनका अनुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ भने केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

बिहान हल्का मात्रै वर्षा भए पनि दिउँसो हल्कादेखि मध्यम वर्षा हुने र राति वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उनले बताए ।

उनका अनुसार कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अन्य प्रदेशको तुलनामा कम पानी पर्ने अनुमान छ । तर भोलिदेखि यी प्रदेशमा पनि धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

आजदेखि पूर्णिमासम्म नै पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्