काठमाडौँ, २ असार । आज दिउँसो वाग्मती, गण्डकी र प्रदेश १ का धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् ।
मौसमविद् हिरा भट्टराईका अनुसार आज दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना भए पनि राति भने ठूलो पानी पर्ने अनुमान छ ।
त्यस्तै राति प्रदेश-१, मधेस प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उनले बताए । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा आज पनि मेघगर्जन र चट्याङ्ग पर्ने सम्भावना छ । अहिले चार प्रदेश वाग्मती, गण्डकी, मधेस र प्रदेश-१ मा मनसुनी प्रणाली सक्रिय छ । अन्य प्रदेशमा भने आंशिक मात्र प्रभाव रहेकाले ती प्रदेशमा खासै पानी पर्न सकेको छैन ।
यसैबीच, देशको पूर्वी क्षेत्रमा लगातारजसो वर्षा भइरहेकोले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सचेत रहन समेत आग्रह गरेका छन् ।