काठमाडौं, १८ कार्तिक । आज देशभर चेलीबेटीले दाजुभाइलाई ‘सप्तरङ्गी’ टिका लगाइदिएर भाइटिका मनाइँदै छ ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी टीका लगाइदिन्छन्।
यता दाजुभाइले पनि आफ्ना चेलीबेटीको आशीर्वादलाई खुल्ला हृदयले स्वीकार्छन् । त्यसैले यो दिन खास छ । भाइटिका खास हुनुको अर्को कारण भनेको यसमा पूजा गर्ने विधि पनि हो ।
सामान्यतः कुनै धार्मिक वा सांस्कृतिक कार्यक्रममा अक्षता वा अबिर, केशरीको टिका लगाउने हिन्दु संस्कृतिले यो दिन सातवटा छुट्टाछुट्टै रङ्गको टिका लगाउन भन्छ । त्यसैगरी, सयपत्री र मखमलीकै माला लगाइदिनुपर्ने, तेल र पानीले छेक्नुपर्ने, फूल अर्पण गर्ने छुट्टै तरिका, ओखर फुटाउने, मसाला, रोटी लगायत मीठा खानेकुराहरू दिनुपर्ने आदिजस्ता प्रक्रियाले पनि भाइटिकालाई विशेष बनाउँछ ।
यमुनाले आफ्ना दाजु यमराजलाई कसैले मार्न नसकोस् भन्ने कामना गर्दैभाइटिका लगाइदिएकी थिइन् । उनले यमराजलाई आफ्नै घरमा आउन निम्तो दिइन् अनि,तेल र दुबोले छेकेर, मखमली, सयपत्रीको माला लगाइदिएर भाइटिका लगाइदिइन् ।
यसरी भाइटिका लगाइदिने परम्पराको शुरुवात भयो । तर, समयसँगै भाइटिकामा सप्तरङ्गी टिका लगाइदिने चलनको विकास हुँदै गयो ।
भाइटीकाको दिन लगाइने सप्तरङ्गी टीकाले दाजुभाइप्रतिको प्रेम ७ वटा रंगजस्तै गाढा भइरहने भन्ने विश्वास गरिन्छ। धर्मशास्त्रविद्हरु सप्तरङ्गी टीका ७ वटा ग्रहसँग सम्बन्धित रहेको बताउँछन्।
ज्योतिषशास्त्र अनुसार ९ वटा ग्रहको महत्त्व हुन्छ। राहु र केतु पनि ग्रह हुन्, तर यी दुई ग्रहले राम्रो फल नदिने हुनाले ७ वटा ग्रहलाई मुख्य मानिन्छ। सप्तरङ्गी टीका पनि तिनै ७ वटा ग्रहसँग सम्बन्धित छन्।
धर्मशास्त्रविद्हरुका अनुसार सूर्यले रातो, चन्द्रमा र शुक्रले सेतो, मंगलले कलेजी, वृहस्पतिले पहेँलो, शनिले निलो तथा बुधले हरियो रंग जनाउँदछन् ।