काठमाडौं, १७ फागुन । व्यापारिक रूपमा सफलताका साथ चलिरहेको चलचित्र ‘लाज शरणम्’को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । निर्माण टिमले रिलिजको तेस्रो दिनमा सार्वजनिक गरेको यो गीतमा सुरज पण्डितको स्वर रहेको छ ।
कुमार कट्टेलको निर्देशन रहेको चलचित्रको गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ । गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने, कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ । भिडियोले एक दम्पतीको दुःखसुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ ।
गीतको भिडियो हेर्दा कर्णालीका सुन्दर दृश्यहरू मात्र होइन, त्यहाँका सरल र पवित्र मन भएका मानिसहरूको जीवनशैली पनि देख्न पाइन्छ । चलचित्रका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड रहेको यस गीतले सिनेमाको मुख्य कथावस्तु झल्काएको छ ।
‘च्यातिएको चोली’ गीतमार्फत दर्शकलाई कर्णालीसँग भावनात्मक रूपमा जोड्ने प्रयास गरिएको छ । यस गीतले दुई मुख्य पात्रबीचको प्रेमकथा तथा उनीहरूको संघर्ष र अभावलाई उजागर गरेको छ ।
चलचित्र हेर्ने दर्शकका लागि महेश त्रिपाठी र रेणु योगीको अभिनय विशेष आकर्षण बनेको छ । कर्णालीको प्राकृतिक सौन्दर्य तथा पात्रहरूको गहिरो अभिनयले दर्शकको मन जित्न सफल भएको देखिन्छ ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको ‘लाज शरणम्’मा महेश त्रिपाठी, सिताराम कट्टेल (धुर्मुस), विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौलालगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ । साथै, प्रियाना आचार्य, अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारहरूले पनि चलचित्रमा महत्त्वपूर्ण भूमिका निभाएका छन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताको रूपमा रहेका छन् । ‘लाज शरणम्’ ले प्रदर्शनको पहिलो दिन नै प्रभावशाली व्यापार गरेको छ । वितरकका अनुसार, पहिलो दिन मात्र चलचित्रले १ करोड १० लाख रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्रप्रति दर्शकको सकारात्मक प्रतिक्रिया देखिएको छ र यसको व्यापार अझै बढ्ने अपेक्षा गरिएको छ ।