काठमाडौँ, ३ चैत । सुरक्षा निकायहरूले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सुरक्षा योजना तयार गरेका छन् । वैशाख ३० लाई लक्षित गरेर सुरक्षा निकायहरूले सुरक्षा योजना अघि सारेका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायले निर्वाचन लक्षित सुरक्षा योजना बनाएका हुन् । गृह मन्त्रालयले समेत एकीकृत निर्वाचन सुरक्षा योजना बनाएको छ । त्यस्तै हरेक सुरक्षा निकायहरूले पनि छुट्टा छुट्टै निर्वाचन सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका छन् ।
नेपाल प्रहरीले ७० हजार जनशक्तिलाई निर्वाचन लक्षित कार्यक्रममा खटाइने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० विष्णुकुमार केसीले जानकारी दिए । गृह मन्त्रालयको माथिल्लो तहको सुरक्षा योजना बनेको छ । जसमा सबै सुरक्षा निकायका अधिकारीको सहभागिता छ ।
नेपाल प्रहरीले केन्द्रीय निर्वाचन सेल गठन गरेको छ । जसको कमाण्डर एआईजी सहकुल बहादुर थापा छन् । उक्त सेलले देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिने, सुपरिवेक्षण गर्ने, अनुगमन गर्ने, प्रहरीको व्यवस्थापन गर्ने र आवश्यक पर्ने स्रोत साधनको व्यवस्था गर्ने एसएसपी केसीले बताए ।
प्रहरीले प्रत्येक प्रदेश र जिल्लामा पनि निर्वाचन सेल गठन गरेको छ । ती निर्वाचन सेलहरूले आफ्नो जिल्ला तथा आफ्नो प्रदेशमा चाहिने जनशक्ति, त्यसलाई चाहिने साधन स्रोतको व्यवस्थापन गर्नुका साथै आवश्यक समन्वयको काम गर्नेछ ।
जिल्लामा सुरक्षा समिति समेत हुनेछ । जुन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुनेछ । त्यसले जिल्लाभर कति सुरक्षाकर्मी खटाउने ? कुन–कुन मतदान केन्द्रमा कस्तो खालको सुरक्षा रणनीति अपनाउने ? लगायतका विषयलाई ध्यानमा राखेर काम गर्नेछ ।
त्यस्तै एक लाख म्यादी प्रहरी पनि खटिनेछन् । उनीहरूलाई आवश्यक तालिम दिएर २८ चैतदेखि निर्वाचनमा खटाइनेछ । उनीहरूको कार्यकाल ४० दिनको हुने प्रवक्ता केसीले बताए । नेपाल प्रहरीका सम्पूर्ण कर्मचारीलाई तम्तयार हालतमा राखिएको र आवश्यकता अनुसार सुरक्षा दिएर चुनाव सम्पन्न गरिने उनको भनाई छ ।
सशस्त्र प्रहरी बल नेपालले समेत निर्वाचन सुरक्षा रणनीति तयार पारेको छ । प्रधान कार्यालयले तल्लो इकारसम्म निर्वाचनका लागि तयारी अवस्थामा रहन भन्दै पत्राचार गरिसकेको सशस्त्र प्रहरी बल प्रवक्ता कमलप्रसाद तिमसिनाले जानकारी दिए ।