काठमाडौँ, २५ फागुन । नेपालको संविधानको धारा ६४ मा नेपालमा राष्ट्रपतिको योग्यता निर्धारण गरिएको छ । उक्त धारा अनुसार सङ्घीय संसद्को सदस्य हुन योग्य भएको व्यक्ति राष्ट्रपति हुनसक्ने व्यवस्था छ ।
राष्ट्रपति हुनका लागि पैँतालिस वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्छ । कुनै कानुनले अयोग्य ठहर नगरेको व्यक्ति मात्र नेपालको राष्ट्रपति हुनसक्ने व्यवस्था छ ।
नेपालको संविधानअनुसार दुई पटक राष्ट्रपति बढी राष्ट्रपतिको उम्मेदवार बन्न पाउँदैन । उपराष्ट्रपतिका हकमा पनि सोही योग्यता लागू हुने संविधानको धारा ६९ मा व्यवस्था छ ।
संविधानको धारा ७० ले चाहिँ राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिङ्ग वा समुदायको हुने व्यवस्था गरेको छ । समानुपातिकमा सूची बुझाउँदादेखि सिट त्यसको अर्थ महिला राष्ट्रपति भए पुरुष उपराष्ट्रपति वा पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्छ । समुदायका हकमा नेपालको जातीय समुदाय अनुसार फरकफरक समूहको हुनुपर्छ ।
त्यस्ता समुदायलाई राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी कानुनले समुदायका रूपमा दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू वा मुस्लिम समुदाय रहेको व्याख्या गरेको छ ।
नेपालको संविधानको धारा २८९ ले राष्ट्रपति र उपराष्ट्रपतिसहित सङ्घीय र प्रदेशतर्फका उच्च पदहरूमा वंशजका आधारमा नेपालको नागरिकता पाएका व्यक्ति मात्र हुन पाउने व्यवस्था गरेको छ ।
प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र सुरक्षा निकायका प्रमुख पदमा पनि निर्वाचित, मनोनित वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने व्यवस्था उक्त धारामा गरिएको छ ।
राष्ट्रपति हुनका लागि कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र कुनै लाभको पदमा नरहेको हुनुपर्ने व्यवस्था पनि छ ।
लाभको पद भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने पदलाई मानिएको छ ।







