झापा, १८ मंसिर । चन्द्रगढी विमानस्थल अब अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल अत्याधुनिक बनाउन गुरुयोजना (मास्टर प्लान) तयार गरेपछि विमानस्थल अत्याधुनिक बन्ने भएको हो ।
प्राधिकरणले तयार गरेको गुरुयोजना सन् २०२० बाट सन् २०३० सम्ममा कार्यान्वयन हुने भएको छ । प्राधिकरणले ८ अर्ब बढीको लागतमा अत्याधुनिक विमानस्थल निर्माणको तयारी गरेको हो । एयरपोर्ट निर्माण र विस्तारले चन्द्रगढी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न सकिने नागरिक उड्डयन प्राधिकरण महानिर्देशक राजन पोखरेलले बताए । उनका अनुसार विमानस्थल विस्तारका लागि तत्काल जग्गा अधिग्रहणको प्रक्रिया थालिने भएको छ ।
चन्द्रगढी विमानस्थल विस्तारपछि बंगलादेशको शाहिदपुर, भारतको कलकत्ता, आसामको गुहाटी, दिल्ली, मुम्बई, भुटान लगायतका ठाउँमा अन्तर्राष्ट्रिय उडान हुनसक्ने बताइएको छ । अहिलेको रन वे भन्दा धेरै विस्तार नभए पनि त्यो सुरक्षित र भरपर्दो हुने भएकाले अन्तर्राष्ट्रिय उडान भर्न सहज हुने महानिर्देशक पोखरेलको भनाइ छ ।
विमानस्थलको टर्मिनल भवन, सवारी पार्किङ, गार्डन, सडक, सडक छेउमा रोपिएको रुख र बगैँचा निकै आकर्षक हुने छन् । हालको अवस्थाभन्दा कयौँ गुणा आकर्षक र सुन्दर हुनेछ चन्द्रगढी विमानस्थल । विमानस्थलमा कहीँ कतै धुलो, फोहार देखिँदैन । शौचालयदेखि प्रतीक्षलय समेत आधुनिक र सफा हुनेछन् ।
विमानस्थलको विस्तार र विकासपछि बोइङ बाहेकका १०० सिट क्षमताका जहाजले अन्तर्राष्ट्रिय उडान गर्न सक्ने भएका छन् । ठूला बोइङ भने चन्द्रगढी विमानस्थलमा अवतरण हुन नसक्ने भएको छ । पूर्वमा भारतीय सीमा भएकाले धेरै विस्तार गर्न नसकिने र पश्चिममा विस्तार गर्न धेरै बस्ती विस्थापित हुने भएकाले मध्यम खालको मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुने भएको हो ।
कहाँ कहाँको जग्गा अधिग्रहण हुँदैछ ?
चन्द्रगढी विमानस्थल ५७ बिगाहमा फैलिएको छ । त्यसमा थप १०१ बिगाह गरी क्षेत्रफल अधिग्रहण हुने भएको छ । हालको विमानस्थलको पूर्वी भागको धुलाबारी–भद्रपुर सडकसम्म, दक्षिणमा सशस्त्र प्रहरीको उत्तरबाट विमानस्थल आउने सडकको उत्तर तर्फको सबै भाग, उत्तरमा धेलावारी सडकबाट कारागारतर्फ आउने सडकको उत्तर तर्फको सबै भाग, त्यसमा कारागार, कारागारपूर्व र पश्चिमको केही भाग, पश्चिममा बिर्तामोड भद्रपुररोडको दुई सय मिटर पूर्वसम्मको भाग विमानस्थलले अधिग्रहण गर्ने भएको छ ।
नेपाली सेनाको व्यारेकसम्म रन वे हुने भएकाले त्यसभन्दा पश्चिम थप पाँच सय मिटर अधिग्रहण हुने भएको हो । सेनाको ब्यारेकबाट बिर्तामोड–भद्रपुर सडक ७ सय मिटर रहेको छ । आवश्यक परेमा प्राधिकरणले भद्रपुर सडकसम्म नै अधिग्रहण गर्न सक्ने अवस्था रहेको छ ।
विमानस्थल विस्तारले नेपाली सेनाको व्यारेक, स्काउट, कृषि, सहकारी, कारागार, सेनाको व्यारेक पश्चिमका घर, विमानस्थल पूर्वका घर, उत्तरका र दक्षिणका घर विस्थापित हुने भएका छन् ।
टर्मिनल भवन उत्तर तर्फ
गुरुयोजना अनुसार विमानस्थलको टर्मिनल भवन उत्तरतर्फ हुने भएको छ । विमानस्थालको ४ सय मिटरको चौडाईभन्दा बाहिर टर्मिनल भवन निर्माण हुने भएको छ । चन्द्रगढी विमानस्थलको हाल भएको टर्मिनल भवनै निकै साँघुरो हुन थालिसकेको छ ।
विमानस्थलको विस्तार र विकासपछि दैनिक ५ हजार जनाले यात्रा गर्न सक्ने चन्द्रगढी विमानस्थल प्रमुख पूर्णप्रसाद चुँडालले बताए । उनले भने, ‘६ वटा जहाज पार्किङ गर्न र सयभन्दा बढी उडान गर्न सक्ने क्षमताको हुन्छ ।
टर्मिनल भवनमा सुरक्षा जाँच, यात्रु विश्राम कक्ष, फ्रि डिउटी पसल, रेस्टुरेन्ट, अत्याधुनिक पार्किङ स्थल, मुस्लिम समुदायका लागि नमाज स्थल, झापाको संस्कृति झल्कने कलाकृति जस्ता आकर्षण हुनेछ । टर्मिनल भवन तथा पार्किङ एरिया नजिक आयल निगमको इन्धन डिपो निर्माण हुने भएको छ ।
नयाँ रन वे
चन्द्रगढी विमानस्थलको रन वे हाल १ हजार ५ सय मिटरको रहेको छ । जग्गा अधिग्रहणपछि चन्द्रगढी विमानस्थलको लम्बाई २ हजार ८ सय मिटर र चौँडाई ४ सय मिटरभन्दा बढी हुने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्ड अनुसार विमानस्थलको रन वे १८ सय ३० मिटरको हुनु पर्दछ ।
रन वेको ३० मिटर चौडाई ३५ मिटरमा विस्तार भएकाले यसमा मर्मत सम्भार मात्र हुने भएको छ । रन वेको उत्तर दक्षिण १ सय ५० मिटर र पूर्व पश्चिम ५ सय मिटर सेफ जोन (सुरक्षित एरिया) हुने भएको छ ।
चन्द्रगढी विमानस्थलमा विमान अवतरणका लागि हाल भिजिविलिटी २२ सय आवश्यक पर्दछ भने गुरुयोजना कार्यान्वयन पछि १६ सयमा विमान अवतरण गर्न सक्नेछ ।
मन्त्री भट्टराईको प्रतिबद्धता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थल गुरुयोजना कार्यान्वयन हुने प्रतिबद्धता जनाएका छन् । गुरुयोजनाका सम्बन्धमा मंगलबार बिर्तामोडमा आयोजित छलफलमा मन्त्री भट्टराईले झापा प्रधानमन्त्रीको गृह जिल्ला भएको स्मरण गराए । उनले भने, ‘झापा प्रधानमन्त्रीको घर र आफ्नो घर जाने ढोका हो ।’
मन्त्री भट्टराईले एक नम्बर प्रदेशमा पर्यटनको राम्रो सम्भावना भए पनि त्यो अनुसारको पूर्वाधार विकास नभएको बताए । उनले पूर्वका पर्यटन व्यवसायीको व्यावसायिक क्षमता कमजोर भएको टिप्पणी गरे । उनले व्यावसायिक क्षमता विकास गर्न पर्यटन व्यवसायीलाई