Logo

यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने श्रीलङ्काको योजना



श्रीलङ्का, २० असोज । श्रीलङ्का सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ ।

श्रीलङ्काको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले भर्खरैको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्था फर्काउने दिशामा काम गरिरहेकाले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको हो ।

प्राधिकरण प्रमुख प्रियन्था फर्नान्डोले सन् २०२२ को अन्त्यसम्ममा श्रीलङ्काले कम्तीमा नौ लाख ७२ हजार चार सय ७५ जना पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिए । उनले भने, ‘नकारात्मकताको विरुद्ध लड्दै गर्दा पछिल्लो नौ महिनाको आगमनको आँकडाबाट हामी खुसी छैनौँ । यो एक क्रमिक निर्माण हो र वर्षको अन्त्यसम्ममा हामीले धेरैभन्दा धेरै पर्यटक भित्र्याउने योजनामा प्रतिबद्ध छौँ ।’

श्रीलङ्काका प्रमुख स्रोत बजारहरूले लगाएको यात्रा प्रतिबन्धहरू खुकुलो भए पनि सेप्टेम्बरमा मात्र २९ हजार आठ सय दुई जना विदेशी पर्यटकहरूको आगमन भएको र यहाँको राजनीति, आर्थिक सङ्कट र यसबाट प्रभावित पर्यटन सेवामा भारी प्रभाव देखिएको छ ।

पर्यटन उद्योगका जानकारहरूका अनुसार पर्यटन क्षेत्रको पुनरुत्थानमा श्रीलङ्का यस क्षेत्रका प्रतिस्पर्धीहरू भन्दा निकै पछाडि छ ।

माल्दिभ्सजस्ता प्रतिस्पर्धी देशले विगत केही महिनादेखि मासिकरूपमा एक लाखभन्दा बढी पर्यटकलाई स्वागत गर्दै आएका छन् भने श्रीलङ्कामा ३० हजारदेखि ६० हजारसम्म पर्यटक आउने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्काको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने स्रोतमध्येको एक पर्यटन क्षेत्र कोभिड-१९ महामारी र यसको आर्थिक तथा राजनीतिक सङ्कटका कारण धरापमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्