काठमाडौँ, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको दाबी गरेका छन् ।
सोमवार दिउँसो सिंहदरबारमा उद्योग-वाणिज्य प्रवर्धन संवाद परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भए पनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताएका हुन् ।
उनले भने, ‘वर्तमान सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायहरूको फलस्वरूप अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमश: सुधार हुँदै गइरहेको छ । वित्तीय तरलताको स्थितिमा सुधार भएको छ । विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स आप्रवाह, पर्यटनलगायतका क्षेत्रमा प्रगति हुँदै जान थालेको छ । कर्जाको दर पनि बिस्तारै घट्दै जान थालेको छ । समग्रमा हेर्दा समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार भएको छ ।’
प्रधानमन्त्रीले भने, ‘नयाँ जनादेशसहित गठन भएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सेवा प्रवाह, सुशासन, विकास निर्माण एवम् अर्थतन्त्रको रूपान्तरण र सुदृढीकरणका लागि नीतिगत, संरचनागत तथा कार्यगत सुधारका विषयलाई महत्त्वपूर्ण प्राथमिकताका रूपमा राखिएको छ ।’







