काठमाडौँ, २ फागुन । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गोङ्गबुस्थित नयाँ बसपार्क प्रयोग गर्ने विषयमा उत्पन्न विवाद समाधानका लागि आन्दोलनरत यातायात व्यवसायी मजदुर सङ्घका पदाधिकारीलाई वार्ताका लागि आह्वान गरेका छन् ।
मन्त्री श्रेष्ठको आह्वानसँगै आज बिहान ८ बजे यातायात मन्त्रालयमा आन्दोलनरत यातायात व्यवसायी मजदुर सङ्घका पदाधिकारीसँग् वार्ता हुने भएको छ । आफ्ना माग पूरा नभएको भन्दै यातायात मजदुरले मङ्गलबारदेखि उपत्यकामा यातायात बन्दको घोषणा गरेका छन् ।
यातायात मजदुरको आन्दोलनले सोमबार अपराह्न गोङ्गबु र स्वयम्भू क्षेत्रमा तनाव उत्पन्न भएको थियो । बालाजुको बाइपास, माछापोखरी सडकमा आन्दोलनकारीले प्रहरीका दुईवटा गाडीमा आगजनी तथा तोडफोड गरेका छन् । प्रदर्शनकारीले ट्राफिक प्रहरीले प्रयोग गर्ने डिभाइडर तोडफोड गर्नुका साथै सडकको बीचमा रहेको सवारी व्यवस्थापन पोस्टमा समेत आगजनी गरेका छन् ।