काठमाडौँ, १२ असोज । काठमाडौँ उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् ।
यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ ।
यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिमाथि निगरानी राख्नका लागि सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्र भट्टले जानकारी दिए । कार्यालयले दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी बनाएको कार्ययोजनाअनुसार एक हजार चार सय ६८ जनशक्ति परिचालन गरिएको छ ।
खराब अवस्थाका सवारीसाधन मर्मत नगरी सञ्चालन गर्दा दुर्घटना हुने गरेकाले ट्राफिक प्रहरीले त्यो नियन्त्रणका लागि ठाउँठाउँमा ‘मेकानिकल चेकिङ’ गरिरहेको प्रवक्ता भट्टले जानकारी दिए । आजसम्मको सवारीसाधन खराब अवस्थामा सञ्चालन गर्ने ९८ लाई कारवाही गरिएको छ । कतिपय सवारी साधनमा हातले लाग्ने ब्रेक काम नगर्ने र कतिपयको पाङ्ग्रा खराब अवस्थामा पाइएको उहाँले बताए ।
कार्यालयले यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतको समन्वयमा उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । आज बिहानसम्म दुई जना यात्रुको मात्रै गुनासो आएको प्रवक्ता भट्टले बताए । लामो दूरी लक्षित गरी कलङ्की, थानकोट, हलचोक, माछापोखरी, चावहिल, सातदोबाटो, बल्खु, कोटेश्वर, पुरानो बसपार्कमा यात्रु सहायता कक्ष रहेका छन् ।






