Logo

यी तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान



काठमाडौं, २८ असोज । हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। साथै ती प्रदेशमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।

यतिबेला (सोमबार बिहान) कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्का वर्षाकोसमेत सम्भावना छ।

आज राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान महाशाखाको छ।

देशका बाँकी भूभागमा राति आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमामेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्