Logo

युएई ‘ए’ विरुद्ध नेपाल ३ विकेटले विजयी



कोलम्बो, ३ साउन । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले यूएई ‘ए’ लाई ३ विकेटले हराएको छ ।

यूएईले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर भेटायो । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । कुशल ४३ बलमा ७१ रन बनाएर आउट भए । यस्तै देव खनाल र सन्दीप जोराले समान २३ रन बनाए । बलिङतर्फ यूएईका मोहम्मद फराजुद्दिनले ५ विकेट लिएका थिए ।

यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको यूएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयो । यूएईका लवप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ६ विकेट लिए । कुशलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए । यस्तै मौसम ढकालले २ तथा पवन सर्राफ र कुशल मल्ले १-१ विकेट लिएका थिए ।

प्रतियोगितामा नेपालको यो पहिलो जित हो । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ र दोस्रो खेलमा भारत ‘ए’ सँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्